महोत्तरी – उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने बेला घर्कँदै गर्दा उखु काटेर चिनी उद्योगमा पुर्याउन र पेलेर सख्खर बनाउन किसानलाई धपेडी परेको हो । भङ्गाहा–४ प्रेमनगरका किसान रामविलास महतोले पुस तेस्रो हप्ताभित्र चैतेबाली लगाइसक्नुपर्ने भएकाले आफूहरू त्यसैमा लागेको बताउनुभयो । यता एक पटक लगाइएको उखु खेतीबाट दुई वर्ष बाली लिइन्छ । पहिलो वर्षको बालीलाई ‘मुडन’ र दोस्रो वर्षकोलाई ‘खुट्टी’ भनिन्छ । हाल खुट्टी उखु भएको जग्गामा तत्काल चैते (चैती) बाली लगाउनुपर्ने बाध्यता छ । ...