उसै त बुढ्यौलीमा राम्रो निद्रा पर्दैन, त्यसमाथि पुसको जाडो । ओढिरहेको पातलो सिरक अलिकति पन्छाएर हजुरबाले झ्यालबाहिर हेरे । बिहान हुन लाग्दासम्म उस्तै अँध्यारो । केही दिनयता लागेको हुस्सु र कुहिरोले घाम छोपेर दिउँसै अँध्यारो छ । उज्यालो हुनै बाँकी रहेको बेला त यसै पनि अँध्यारो भैहाल्ने भो । हजुरबाले कोल्टे फेरे । सरकारले चिसोमा बुढाबुढी र विपन्नहरूलाई न्यानो कम्बल बाँड्ने कुरो गर्थ्याे । तर पहिलेदेखि अहिलेसम्मका सरकारहरूले कुरो मात्रै गर्ने हुन्, कुरो अनुसार काम गर्ने भए पो । कुरो मात्रैले हुने भए यस्तो जाडोमा किन रातभर अन...