थाइल्याण्डको नाखोन राचासिमा प्रान्तमा काम गर्दै गरेको क्रेन गुड्दै गरेको रेलमाथि खस्दा कम्तीमा ३२ ज्यान गएको छ भने ६६ जना घाइते भएका छन् । सिखियो जिल्लामा यो दुर्घटना भएको बीबीसीले जनाएको छ । बैंककबाट उत्तर–पूर्वी प्रान्त उबोन राचाथानीतर्फ गइरहेको रेललाई काम गरिरहेको क्रेनले ठक्कर दिएपछि केही डब्बा पटरीबाट उछिट्टिएर आगलागीसमेत भएको खबरमा उल्लेख छ । राज्य रेल्वे अफ थाइल्याण्डका अनुसार रेलमा १ सय ७१ जना यात्रु थिए । दुर्घटना स्थानीय समयानुसार हिजो विहान ९ बजेको हो ।