सगरमाथाको काखमा अवस्थित हिमाली जिल्ला सोलुखुम्बुमा यतिबेला हिउँदे जाडो छ । हिउँमुनिको हिमाली जिल्लामा जाडोसँगै चुनावी चटारो बढेको छ । चुनावी चर्चा र उम्मेदवारहरूको लावालस्करले सोलुको राजनीति भने गर्माएको छ । बिहानको झुल्केघामसँगै चिया पसलमा तात्ने राजनीतिक गफदेखि गाउँघरका चौतारी र घाँस-दाउरा गर्ने मेलापातसम्म एउटै चर्चा सुन्न पाइन्छ– यसपटक सोलुखुम्बुले कसलाई भोट दिएर सिंहदरबार पठाउला ? ८५ हजार ८१५ मतदाता रहेको सुन्दर सोलुमा एउटा मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र छ । जिल्लामा परम्परागत शक्तिका रूपमा रहे...